पशुपतिनाथमा राखियो ८० करोडको सुनको जलहरी !

 कोरखबर   १२ फागुन, २०७७



फागुन १२,काठमाडौं । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा ८० करोड रुपैयाँको सुनको जलहरी राखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार क्षमापूजा गरेपछि उक्त जलहरी राखिएको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले राष्ट्रपति भण्डारीले पुजा गरेपछि एक सय आठ केजी सुनको जलहरी स्थापना गरिएको बताए। जलहरी स्थापनापछि कोषले उक्त जलहरी निर्माण गर्ने कालिगड लगायतलाई समेत सम्मान गरेको छ।

शिवलिंगको पानी झर्ने ठाउँलाई जलहरी भनिन्छ। जलहरीको लम्बाइमा शिवलिंगकै जति हुन्छ। यसअघि चाँदीको जलहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको राख्न निर्देशन दिएपछि कोषले बुधबार सुनको जलहरी राखेको हो।

माघ दोस्रो साता प्रधानमन्त्री ओलीले पशुपतिनाथको दर्शन गर्दै यसअघि चाँदीको जलहरीलाई सुनको बनाउन निर्देशन दिएका थिए। सरकारले तत्काल ३० करोड दिने प्रतिबद्धता जनाएसँगै कोषको काम अघि बढाएको थियो।

कोषले जलहरीका लागि आवश्यक पर्ने १०८ किलो सुन खरिद गर्न ८० करोड रुपैयाँ लाग्ने एस्टिमेट तयार गरेको थियो। जसमा सरकारले ३० करोड र कोषले ५० करोड रुपैयाँ लगानी गरेको थियो। राष्ट्र बैंकबाट उक्त परिणामको सुन ल्याइएको हो।

जलहरीसहित मन्दिरको छाना तथा बसाह मर्मतका लागि जम्मा १४२ केजी सुन किन्ने योजना भएपनि अहिले जलहरीका लागि १०८ केजी सुन्न किनिएको कोषले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post