१० फागुन, काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओली महेन्द्रनगर पुगेका छन्। कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि ओली महेन्द्रनगर पुगेका हुन्।
प्रधानमन्त्री महेन्द्रनगर ओर्लने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन्। करिब १२ सयको हाराहारीमा सुरक्षाकर्मी खटिएको जनाइएको छ। कार्यक्रमस्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ।
ओली सोमबार बिहान श्रीएयरलाइन्सको उडानमार्फत धनगढी विमानस्थलहुँदै महेन्द्रनगर पुगेका हुन्। प्रधानमन्त्री ओली धनगढीबाट सेनाको हेलिकोप्टरबाट दैजीछेला औद्योगिक क्षेत्रमा जानेछन् । कार्यक्रम स्थल नजिकै हेलीप्याडको समेत स्थापना गरिएको छ।
प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ।