६ फागुन, काठमाडौं । काठमाडौंमा आज दिउँसो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । दिउँसो १ बजेपछि मौसममा बदली भएर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए ।
मौसमविद् अर्यालका अनुसार आज राति काठमाडौंको मौसम केही सफा देखिने छ । दुईतीन दिनसम्म पनि मौसम सफा नै देखिए पनि त्यसपछि पुनः बदली हुने सम्भावना छ।
आज दिउँसो प्रदेश २ र प्रदेश ३ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिए ।
आजराति प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।