३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले नाटक देखाउने तयारी गर्दा प्रहरीले हस्तक्षेप गरेको छ। सोमबार दिउँसो शैक्षिक प्रतिगमनविरुद्धमा विद्यार्थीले नाटकमार्फत विरोध गर्न तयारी भइरहदा प्रहरीले हस्तक्षेप गरेको हो।
प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेको छ। संसद् विघटन प्रतिगामी कदम भएको भन्दै तय भएको विरोध कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु नाराबाजीमा उत्रिएका छन्। प्रहरी हस्तक्षेपविरुद्ध विद्यार्थीले धर्नासमेत दिइरहेका छन्।
प्रदर्शनमा सहभागीहरुले ‘शिक्षाको क्षयीकरण बन्द गर’, ‘विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादनको कारखाना कहिलेसम्म ?’ ‘शैक्षिक प्रतिगमन मूर्दावाद ’,‘शिक्षाको निजीकरण बन्द गर’,‘विद्यार्थी एकता जिन्दावाद’,‘अग्रगमन जिन्दावाद’ लगायतका नारा लगाएका थिए।