२ फागुन ,काठमाडौ । संसद बिघटनविरुद्धको मुद्धामा आजबाट रिट निवेदकको तर्फबाट जवाफी बहस हने भएकोछ। आजबाट बहस गर्नेले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन् । जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिने छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दायर भएका थिए । ती सबै रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ।
प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्।
संवैधानिक इजलासलाई राय दिन गठित एमिकस क्युरीमा सर्वोच्च अदालत बार एसोसिएसनबाट अधिवक्ताद्वय पूर्णमान शाक्य र खगेन्द्रप्रसाद अधिकारी तथा केन्द्रीय नेपाल बार एसोसिएसनबाट वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतीसकृष्ण खरेल र विजयकान्त मैनाली छन् ।