२ फागुन, काठमाडौं । चुनावको आचारसंहिताबारे निर्वाचन आयोगले आज सबै दलका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सोही मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको जनाएको छ ।
आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ।
दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।