माघ २८,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य विषयमा छानविन गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निश्पक्षतालाई मूलमन्त्र बनाएर छानविन गर्न आग्रह गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । भ्रष्टाचार नियन्त्रणमा सबै नागरिकको उत्तिकै महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । भ्रष्टाचार नियन्त्रणका लागि सबैको साझा प्रतिवद्धताले नै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ उहाँले थप्नुभयो, “भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोत दुरुपयोग भई राज्य प्रणालीलाई जर्जर बनाउँछ ।”
भ्रष्टाचारप्रति शुन्य सहनशीलता कायम गर्न सरकार तथा समग्र आमनागरिक त्यसमा लाग्न आवश्यक रहेको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “आयोगले छानविन गर्दा निश्पक्षताको मूल मन्त्रलाई कायम गर्नुपर्छ ।” भ्रष्टाचार नियन्त्रणमा राज्यले लिएको रणनीति प्रभावकारी कार्यान्वयन गर्नमा आयोगलाई लाग्न उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै निकायका प्रतिनिधिहरु क्रियाशील भएमा मुलुकको भ्रष्टाचार अन्त्य गर्नमा सहज हुने बताउनुभयो । कानुनको नजरमा सबै बरावर भएकाले दोसीलाई कानुनअनुसार कडा कारवाही हुने बताउनुभयो । आयोगले गरेको सफलता सकारात्मक भए पनि आयोगले दायर गरेको मुद्दा फरक पर्नेगरी दायर गर्न नहुने बताउनुभयो । निर्दोस मान्छेमाथि मुद्दा दायर भएमा त्यसले प्रतिकूल असर पार्ने भन्दै उहाँले आयोगलाई त्यसमा सचेत हुन आग्रह गर्नुभयो ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगले छानविन तथा कारवाहीमा कसैप्रति विभेद नगरिएको बताउनुभयो । राज्यलाई अग्रगमनमा लग्ने प्रयास धेरै भएपनि अझै सन्तोषजनक काम हुन नसकेको चर्चा गर्नुहुँदै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्नमा आयोगि क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो । कानूनतः दण्डनीय काम गर्ने जोकोहीलाई कारवाही हुने उहाँले चेतावनी दिनुभयो ।