२६ माघ, काठमाडौं । मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले आगामी बुधवारदेखि केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई दुई दिनपछि वर्षात हुने मौसमविद्ले जनाएका छन् ।
मौसमविद् सजिना शाक्यले आगामी बुधवारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताएकी छिन् । उनका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ । यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ । अब विस्तारै तापक्रम वृद्धि भई गर्मी बढ्दै जाने बताइएको छ।
राजधानी काठमाडौंसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार आज सोमवार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
भोलि मंगलवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । आगामी २८ गते बुधवार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।