२५ माघ, दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ ।
गाउँपालिकाले यही माघ २९ गते देखि फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले जानकारी दिए ।
गाउँपालिकाका अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेको छ। ती समुदायले यही माघ ३० गते विशेष पर्वको रुपमा २८५७ औँ लाङ म्हे (गाई वर्ग) ल्हो सोनामा ल्होछार मनाउँदै छन् ।
गाउँपालिकाका अध्यक्ष भरत दुलालले हरेक समुदायको सांस्कृतिक रीतिरिवाज पालिकाको सम्पत्ती रहेकोले यसको संरक्षण र प्रवद्र्धन गर्न सार्वजनिक बिदा दिने घोषण गरिएको बताए ।
यता काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाले पनि तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा तीन दिन नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँसभाले यही माघ २९ गते देखि फागुन १ गतेसम्म बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विनोद घिसिङले बताए।
यसअघि काभ्रेको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले पनि ल्होछारको अवसरमा तीन दिन सार्वजनकि बिदा दिने निर्णय गरिसकेका छन् ।