२५ माघ , धनगढी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको र त्यसमा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
गएको बुधबार विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनास्थलको प्रकृति र शवको प्रकृतिका आधारमा प्रहरीले उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । शवको पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।
यसैबिच सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी उत्तमकुमार सुवेदी बैतडीतर्फ हिँडेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीका अनुसार डिआइजी सुवेदीले बैतडी पुगेर उक्त घटनाको अनुसन्धानमा भइरहेको प्रगतीबारे बुझ्नेछन् । घटनाको नेपाल प्रहरीका एसएसपी जनक पाण्डेयसहित केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले भागरथीको ‘कल डिटेल’लगायत प्राविधिक पक्षको अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको भए पनि उनले ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको पाइएको छ । उनीसँगै विद्यालयबाट निस्कँदा चारजना साथी रहेको र घरमा आमा एक्लै छन् भन्दै उनी साथीहरुबाट छुट्टिएर हिँडेको बताइएको छ । एक्लै हिँडेकी उनी घर पुग्न भने पाइनन् ।