अमेरिकामा दुई एफबिआई एजेन्टको गोली हानी हत्या !

 कोरखबर   २१ माघ, २०७७



माघ २१,फ्लोरिडा । संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो ९एफबिआई०का दुई जना एजेन्टको गोली हानी हत्या भएको छ भने तीन जना घाइते भएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार फ्लोरिडा राज्यको एउटा घरमा जाँदा उनीहरूमाथि गोली हानिएको हो। सन् २००८ पछि अमेरिकामा कामको शिलशिलामा रहेका एफबिआई कर्मचारीको हत्या भएको यो पहिलो पटक हो। 

फ्लोरिडाको सनराइजस्थित एउटा घरमा बच्चाहरूमाथि अपराध भएको उजुरीका आधारमा अदालतले दिएको पक्राउ पुर्जी लिएर पुगेका एजेन्टहरूमाथि स्थानीय समयअनुसार मंगलबार बिहान ६ बजे गोली हानिएको हो।

अदालतले बच्चाहरूलाई पोर्नोग्राफीमा लगाएको मुद्दामा संलग्नता भएको हुन सक्ने भन्दै उक्त घरमा बस्ने मानिसलाई पक्राउ गर्न भनेको थियो। 

एफबिआई एजेन्टहरू घरमा जानासाथ घरभित्र भएका मानिसले गोली हानेका थिए। घाइते भएकामध्ये दुई जनाको अवस्था स्थिर छ भने तेस्रोलाई अस्पताल भर्ना गर्नु परेको छैन। 

न्युयोर्क टाइम्सका अनुसार अभियोग लागेका मान्छेले प्रहरीलाई रोक्न अपार्टमेन्ट बाहिर अवरोध लगाएका थिए। उनी पछि भित्र मृत भेटिएका थिए। ती व्यक्ति को थिए र उनको कसरी मृत्यु भयो भन्ने खुलाइएको छैन। 

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन सोकीले घटनाबारे राष्ट्रपति जो बाइडेनलाई ब्रिफिङ भइसकेको बताएकी छन्।  एफबिआई निर्देशक क्रिस्टोफर रेईले मृत्यु हुनेहरूमा डेनिअल अल्फिन र लाउरा च्वर्जेन्बर्गर रहेको जानकारी दिए। 

विज्ञप्ति जारी गर्दै उनले ती दुई एजेन्टले देशका लागि बहादुरी देखाएको र एफबिआईले उनीहरूको यस बहादुरीको सधैँ सम्मान गर्ने उल्लेख गरेका छन्। एजेन्सी 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post