२१ माघ, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई वर्ल्ड बुक अफ रेकर्डले विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेको छ।
भारतको राजधानी नयाँदिल्लीमा आयोजित समारोहमा मन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारीता राज्यमन्त्री रामदास आठवलेले प्रमाणपत्र हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै सामाजिक न्याय राज्यमन्त्री आठवलेले मन्त्री मानन्धरले कायम गरेको विश्व कीर्तिमान राजनीतिकर्मीका लागि प्रेरणादायी अठोट भएको बताए। नेपाली र भारतीयबीच अधिकांश विषयमा समानता रहेको बताउँदै मन्त्री आठवलेले समृद्धिको यात्रामा पनि सँगसँगै हिड्न चाहेको बताए।
भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि महत्वपुर्ण सफलता प्राप्त गरेको बताउँदै मन्त्री आठवलेले नेपाल सरकारसँग पनि आवश्यक सहकार्य हुने बताए। दुई छिमेकी मुलुकबीचको आपसी सम्बन्ध र सहकार्य अझै बढाउन मोदी सरकार तयार रहेको बताउँदै नेपाल सरकारले तय गरेको समृद्धीको यात्रामा भारतको सधैं साथ रहने मन्त्री आठवलेले जनाए।
कार्यक्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणीक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्ने बताए। विकासमा भारतीय साझेदारी महत्वपुर्ण रहेको बताउँदै मन्त्री मानन्धरले दुई देशबीचको आगामी यात्रा थप उज्ज्व हुने विश्वास व्यक्त गरे। आफुले कायम गरेको विश्व कीर्तिमान भारतीय राजनीतिक व्यक्तित्व र कलाकारहरुसँग पनि सेयर गर्न पाएकोमा गौरवान्वीत भएको बताउँदै मन्त्री मानन्धरले संगीतको सीमा नहुने जनाए।
मन्त्री मानन्धरले लगातार गत पुस १० गते ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म गीत गाएर वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड बताएका थिए।