२० माघ, काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन् । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेका थिए ।
कारागार स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका थिए । त्यसक्रममा उनले कारागारको निरीक्षण गरे । र, विप्लव नेता वलीसँग संवाद गरे ।
संसद विघटनको निर्णयपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा फुट आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । त्यसैको निरन्तरता स्वरुप ओलीले भूमिगत विप्लव समूहलाई मुलधारमा ल्याउन संवादको प्रयास जारी राखेका छन् ।
त्यही प्रयास स्वरुप मन्त्री थापाले सुदर्शनलाई भेटेका हुन् । समूहमाथि सरकारले २९ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त समूहले राखेको छ । त्यसपछि हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सन्देश पठाएका छन् ।