प्रधानमन्त्रीद्धारा संवैधानिक परिषद्को बैठक आव्हान !

 कोरखबर   २० माघ, २०७७



२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बैठक बुधबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी तय भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले बताए।

यसअघिको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा गरेका नियुक्ति सिफारिसको सक्कलै पत्र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएपछि फेरि बैठक आह्वान गरिएको हो।

मंसिर ३० गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर सोही दिन साँझ बसेको बैठकले अख्तियार दुरूपयोग अुनसन्धान आयोगका प्रमुखसहित विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो।

बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए। प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख सापकोटाले भने उक्त बैठक बहिष्कार गरेका थिए। तर, बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्थासहित अध्यादेश जारी गरेको सरकारले देउवा र सापकोटाको अनुपस्थिति भएपनि नियुक्ति सिफारिसको निर्णय गरेको थियो।

त्यसपछि, पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरूको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले आइतबार सक्कलै फाइल फिर्ता पठाइदिएका थिए।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post