१९ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले विरोध गरेका छन् ।
उनले सोमबार पत्रकार सम्मेलन गरी राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले सभामुखको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाएका हुन् । ‘हिजोको पत्रमा राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा मैले आपत्ति जनाउनु परेको हो’ उनले भनेका छन् ।
३० पुस विहान बसेको संवैधानिक परिषद्को बैठकमा गणपुरक संख्या नपुगेपछि सरकारले अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो भने त्यही दिन साँझ अर्को बोलाइएको थियो ।
बैठकमा सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहभागी भएको त्यो बैठकमा नियुक्ति सिफारिसबारे छलफल भएपनि कुनै निर्णय नभएको बताइएको थियो ।
तर ५ पुसमा प्रतिनिधिसभा भंग गरेसँगै अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पुगेको थियो ।
आइतबार सभामुख सापकोटाले नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएका थिए ।