माघ १८,जनकपुर । प्रदेश २ सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन् ।
मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा. राम केवल साह, रजिष्टारमा डा।विनोद यादव र रेक्टरमा डा।अंकुर साहलाई नियुक्त गरिएको हो । मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।
नियुक्ति पत्र हस्तान्तरणपछि सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरवको योजनाको रुपमा रहेको प्रतिष्ठानका पदाधिकारी नियुक्ति सरकारका लागि गौरवको विषय रहेको बताए । नवनियुक्त पदाधिकारीहरुका लागि अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले यसै वर्षदेखि एकेडेमिक सेशनहरु सञ्चालन हुने विश्वास व्यक्त गरे ।
प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको हो । कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, मुख्य न्यायधिवक्ता दिपेन्द्र झालगायतका उपस्थित रहेको थियो ।