अब १६ वर्षमै पेन्सन, घट्ला त सेनाको जागिर छाड्ने प्रवृत्ति !

 कोरखबर   १५ माघ, २०७७



१५ माघ, काठमाडौं । नेपाली सेनाका फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेपछि अब स्वेच्छिक अवकाश लिएर निवृत्तभरण पाउने भएका छन् ।

पटकपटक जंगीअड्डाले यस सम्बन्धमा पठाउने गरेको प्रस्ताव अर्थ मन्त्रालयबाट अस्वीकृत हुने गरेको थियो । तर, केही प्रावधान फेरबदलसहित हालै पठाइएको प्रस्तावलाई अर्थ र सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएपछि २९ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले सैनिक ऐनलाई संशोधन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको सैनिक सेवा (तेस्रो संशोधन) नियमावली, २०७७ मा १६ वर्षमा निवृत्तिभरणको सुविधा प्राप्त हुने गरी अवकाश लिन मिल्ने भए पनि पेन्सनका लागि थप चार वर्ष कुर्नुपर्ने उल्लेख गरिएको छ । सैनिक स्रोतका अनुसार आर्थिक भार हुने भन्दै अर्थ मन्त्रालयले पटकपटक प्रस्ताव फिर्ता पठाइदिन थालेपछि २० वर्षपछि मात्रै पेन्सन पाइने गरी मध्यमार्गी निर्णय गरिएको हो ।

यही प्रावधानसहित प्युठ, अमल्दार र हुद्दाले १७ वर्ष, जमदारले १८ वर्ष, सुवेदार र प्रमुख सुवेदारले १९ वर्ष र सहायक सेनानी र त्यसभन्दामाथि प्रधानसेनापतिसम्मले २० वर्षमा अवकाश लिन सक्ने भनिएको छ । यो निर्णय २८ बैशाख २०६० वा त्यसभन्दा पछि भर्ना भएका सैनिकहरूको हकमा मात्र लागू हुनेछ ।

सुरक्षा निकायमा तल्लो दर्जाका कर्मचारीले पेन्सन अवधि पुग्ने वित्तिकै राजीनामा दिएर अन्य काम गर्ने प्रवृत्ति छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि पेन्सन अवधि घटाउन माग हुँदै आएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post