१५ वर्षपछि समातिए दुखराम चौधरीको हत्यारा !

 कोरखबर   १३ माघ, २०७७



माघ १३, काठमाडौं । कैलालीको धनगढी नगरपालिका-६ जाली गाउँका २५ वर्षीय दुखराम चौधरीको हत्यामा संलग्न ४ जना १५ वर्षपछि पक्राउ परेका छन्। दुखरामको हत्या आरोपमा जिल्ला प्रहरी कैलालीले ४ जनालाई विभिन्न मितिमा पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका–६ जाली बस्ने वर्ष ३५ को सियाराम चौधरी, सोही ठाउँका वर्ष ३३ का टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनील भन्ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्ने तारा प्रसाद चौधरी छन्।

२०६२ साउन ११ गते घरबाटै दुखराम हराई बेपता भएका थिए। त्यसको भोलिपल्ट धान खेतमा शव फेला परेको थियो। घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध जाहेरी समेत परेको थियो। तर उनीहरु फरार थिए।   

प्रहरीले खोजतलास गर्दै जाँदा गत पुस १७ गते संलग्न सियाराम चौधरी, टेकुवा भन्ने टिकाराम चौधरी, सुनील भन्ने कालुराम कुमाललाई धनगढी उपमहानगरपालीकाको विभिन्न स्थानबाट पक्राउ गरिएको थियो। 

माघ ६ गते तारा भन्ने तारा प्रसाद चौधरी कालिकोटबाट पक्राउ परेका हुन्। कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमति लिई चारै जनामाथि अनुसन्धान सकी जिल्ला सरकारी वकिल कार्यालय कैलालीमा पेस गरिएको कैलाली प्रहरीले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post