बारामा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते !

 कोरखबर   १३ माघ, २०७७



१३ माघ, वीरगञ्ज। बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा खोटाङका ३६ वर्षीय लाल बहादुर पाण्डेको मृत्यु भएको हो।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा भित्री सडकखण्डबाट वीरगञ्ज–पथलैया सडकखण्डस्थित छातापिपरा निस्कने क्रममा बा. ३ क ३७३६ नम्बरको मिनी ट्रकले पैदल यात्रु पाण्डेलाई ठक्कर दिएको थियो।

मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको थियो। उपचारको क्रममा उनको राति ८ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ।

त्यसैगरी वीरगञ्ज–कलैया सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन्। कलैया उपमहानगरपालिका–५ घुसुकपुर बस्ने ४८ वर्षीय निर्मला देवी सोनार घाइते भएकी हुन् । सोमबार साँझ कलैयातर्फ जाँदै गरेको ना. २ त. २८२८ नं.  को ट्याक्टरले पैदल हिँडिरहेकी निर्मलालाई ठक्कर दिएको थियो।

ट्याक्टरको ठक्करबाट टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागि घाइते भएकी थिइन्। उनलाई उपचारको लागि नरसिंह अस्पताल कलैयामा पठाइएकोमा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

चालक बारा प्रसौनी गाउँपालिका–५ बन्जरीया टोल बस्ने २२ वर्षीय मनोज कुमार राउतलाई प्रहरीले पक्राउ गरेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post