माघ १२,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाँदै हुनुहुन्छ। दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लाग्नुभएको हो ।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गर्नुभएको थियो ।
करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो ।
नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ । प्रधानमन्त्री ओलीले राप्ती पुलको उदघाटन गरेपछि राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।