माघ ११, काठमान्डौ। यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिइने ट्रायल परीक्षाको सीमित संख्या प्रणाली हटाएको छ । शुक्रबारदेखि जतिजनाले पनि आवेदन दिन पाउने भएका हुन्।
यसअघि देशभरका १९ कार्यालयले हप्तामा २० हजार आवेदन मात्र लिन सक्ने कोटा तय गरिएको थियो। तर, सवारीचालक अनुमतिपत्रको अनलाइन फाराम भर्ने सेवाग्राहीले नियमित रूपमा पाइरहेको एसएमएस सेवा भने बन्द गरिएको छ।
विभागले प्राविधिक कारणले गर्दा यो सेवा बन्द गरिएको जानकारी दिएको छ। एसएमएस सेवा अवरुद्ध भएको समयसम्मका लागि आफ्नो अनलाइन प्रणालीबाट प्राप्त रजिस्टर नम्बर सुरक्षित राख्न र सम्बन्धित कार्यालयमा तोकिएको मितिमा सम्पर्क गर्न अनुरोध गरेको छ।
विभागले ट्रायल दिन चाहनेहरूका लागि अनलाइनमार्फत फाराम भर्न सक्ने व्यवस्था गरेको छ । पछिल्लो ९ महिना (११ चैत) देखि आवेदन दिने क्रम बन्द भई केही अघि मात्र खोलेको हो । लामो समय आवेदन फाराम भर्न रोकिएपछि अत्यधिक भिड भएका कारण सिस्टमले नै काम नगर्ने समस्या थियो।
यातायात व्यवस्था विभागका निर्देशक डा। लोकनाथ भुसालका अनुसार दैनिक २० हजारजनाले आवेदनका लागि अनलाइन प्रणालीमा ‘हिट’ हुने गरेको थियो । कोटा प्रणाली हुँदा एउटै व्यक्तिले पनि पटक–पटक फाराम भर्न खोज्ने र भर्न नसक्दा प्रणालीमा चाप पर्न गई सर्भर डाउन हुने समस्या थियो। नयाँ प्रणाली कार्यान्वयनमा आएपछि यो समस्या हट्ने यातायात व्यवस्था विभागका अधिकारीहरूको भनाइ छ।