माघ १०, सप्तरी । तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्लाको बोदे बर्साइन नगरपालिका २ जोगियास्थित बिसनपुर-बोदे बर्साइन सडक खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना भएको हो । बिसनपुरबाट बोदेबर्साईनतर्फ जाँदै गरेको ३ जना सवार प्रदेश नम्बर २-०१-००१ प ६४०३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको बीचमा सबार खडक नगरपालिका ८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई यूनिक अस्पताल रायपुरमा लगेर उपचार गराइरहँदा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका ८ बस्ने २७ वर्षीय शनी चौधरी र पछाडि सवार १८ वर्षीय दिवेश चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका छन् । दुवैको युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।