मेलम्ची खानेपानी आयोजनाः सुरुङ पुनः परीक्षणको तयारी !

 कोरखबर   ८ माघ, २०७७



माघ ८,सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । विगतको त्रुटि सच्याउँदै सुरुङमा पुनः गेट जडान गर्ने काम अन्तिमतिर पुगेपछि आयोजनाले परीक्षण तयारीको गृहकार्य थालेको हो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले ढिलोमा आगामी फेबु्रअरीभित्र सुरुङमा मेलम्ची खोलो छिराएर ९पथान्तरण० परीक्षण गरिने बताए । ‘सुरुङ गेटको काम सकिनै लागेकाले पुनः परीक्षण तयारी थालिएको हो,’ उनले भने । उनका अनुसार सुरुङको गेट रहने संरचनामा कंक्रिटिङ ढलान गर्ने र फ्रेम झुन्डाउने काम सकिएको छ । अहिले झुन्डाइएको गेट कस्ने काम भइरहेको छ ।

आयोजना र दातृ निकायको समन्वयमा जर्मनीबाट झिकाइएको विज्ञ टोलीले समग्र सुरुङको अवस्था र गेट जडान कार्यको प्रत्यक्ष सुपरीवेक्षण र प्राविधिक अध्ययन गरिरहेको छ । सुरुङ र गेट विज्ञ सम्मिलित टोलीले अन्तिम प्रतिवेदन बुझाएपछि परीक्षणको काम सुरु हुने प्रवक्ता पन्तले जानकारी दिए । ‘विज्ञ टोलीले जनवरीको अन्तिमसम्म प्रतिवेदन बुझाउने भनेको छ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा फेब्रुअरीदेखि सुरुङ परीक्षण थाल्ने तयारी छ ।’

आयोजनाका अनुसार विज्ञले डिसेम्बर अन्तिमसम्ममा प्रतिवेदन बुझाउने भने पनि गेटकै काम सकिएन । विज्ञले प्रतिवेदनमा केही त्रुटि औंल्याए पहिला त्यो सच्याउने काम हुने प्रवक्ता पन्त बताउँछन् । त्रुटि भेटिएपछि नै नयाँ डिजाइनअनुसार पुनः गेट जडान गर्ने काम भइरहेकाले ससानाबाहेक ठूला कमजोरी फेला नपर्ने आयोजनाको विश्वास छ ।

गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएपछि गेटको डिजाइन र जडानमै त्रुटि भएको फेला परेको थियो । गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो । दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिए पनि दुईको ज्यान गएको थियो ।

घटनापछि खानेपानी मन्त्रालयद्वारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित विज्ञ सम्मिलित छानबिन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटि रहेको औंल्याएको थियो । समितिकै छानबिन प्रतिवेदनको सिफारिसअनुसार असोजदेखि नयाँ डिजाइनमा गेट जडान गर्ने कार्य भइरहेको हो । पहिला बाहिरबाटै खोल्न मिल्ने गरी गेट जडान गरिएको थियो । अहिले भने बाहिरबाट भित्र खोल्न मिल्ने गरी जडान भइरहेको छ । बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी राखिएका गेट सुरुङमा जम्मा भएको पानीको चापले धकेलेर नटबोल्ट खुस्कँदा दुर्घटना भएको थियो । नागरिक दैनिकबाट



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post