माघ ६, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक विराटनगरमा सुरु भएको छ ।
विराटनगरको होटल एसिया टिकमा दलका नेता भीम आचार्यको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा ३२ सांसद सहभागी छन् । ३७ सांसदले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
ओली पक्षको दलको बैठक भने भोलिलाई डाकिएको छ । कांग्रेस संसदीय दलको बैठक पनि चलिरहेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार सुरु हुँदै छ ।
नेकपामा पछिल्लोपटक उत्पन्न विवादपछि अलग-अलग समूहको बैठक डाकिएको हो । बैठकले प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्ने बताइएको छ ।
नेकपा सांसद कुलप्रसाद लिम्बूले नयाँ सरकार गठनको विषयमा छलफल हुने बताए । सांसद राजेन्द्र राईले केही सांसद पहाडबाट आउँदै गरेको र केही काठमाडौंमा रहेको जानकारी दिए ।