२९ पुस, काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुटको पुलिन्दाको संज्ञा दिएका छन्। दाहाल-नेपाल समूहले काठमाडौंमा गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
प्रधानमन्त्री ओलीजी झुटका पुलिन्दा हुन्। उनले के बोलिरहेका छन् थाहा पाइँदैन, केपी ओलीसँग कम्युनिष्ट सिद्धान्तप्रति कुनै प्रतिवद्धता छैनु, उनले भने, ' उहाँ फोहोरको डंगुर हो, डुङडुङी गन्हाउँदा पनि शरीरमा बोक्नु परेको छ भनेर वामदेव कमरेडले भन्नु भएको थियो। अहिले पनि वामदेव कमरेड उनलाई सुधार्न बालुवा पेलिरहनु भएको छ। तर केपी ओली सुध्रिने मान्छे होइनन्। उहाँ भाँचिन तयार हुनुहुन्छ तर झुक्न जान्नु हुन्न।'
नेपालले ओली गुट गलत बाटोमा गएको आरोप लगाएका छन् । उनले ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्दै अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले भने, ओली गुट गलत बाटोमा छ । तपाईंहरू भ्रममा नपर्नु । ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्नुपर्छ । ओली झुटको पुलिन्दा हो । ओली समूहको पार्टी, पार्टी होइन, उनको समूह सडकको धुलोमा परिणत हुन्छ । त्यो समूहबाट असन्तुष्ट भएर यता आउने साथीहरूको संख्या धेरै छ । उहाँमा भएको आरचण, संस्कार र सोचका कारण कोही टिक्नेवाला छैन त्यहाँ । त्यो समूह, ओली कुनै पनि हालतमा कम्युनिस्ट होइन ।’