पुष २६, काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद कसैले माग्नेबित्तिकै दिन मिल्ने ‘मोहोर सिक्का’ नभएको बताएका छन्। राष्ट्रिय सभालाई सम्बोधन गर्ने क्रममा उनले मजाक गर्दै भने, ‘कसैले भन्छ, केपी ओलीले सरक्क अध्यक्ष छाडेको भए भइहाल्थ्यो। कसैले भन्छ( प्रधानमन्त्री छाडेको भए भइहाल्थ्यो। कमन्डलु थाप्नेबित्तिकै दिने यो मोहोर सिक्का हो र? ’
स्थायित्व नचाहनेले प्रधानमन्त्री फेरबदल गरेर अस्थिरता सिर्जना गर्न खोजेको उनको दाबी छ। उनको भनाइ छ, ‘कसैले चाहेर पनि प्रधानमन्त्री फेरबदल गर्न सकेन, यो स्थायित्वको स्थिति हो।’
आफूलाई पनि पाँच वर्ष राम्रै चलाउन पाए हुन्थ्यो भन्ने लागेको बताउँदै उनले सञ्चारमाध्यमलाई प्रायोजित भनेका छन्।‘प्रायोजित अनेक लगानीका सञ्चारमाध्यम प्रयोग गरेको छ। त्यस्तै खालको बुद्धिजिवीको झुन्ड प्रयोग गरेको छ।अस्थिरता सिर्जना गर्ने साझा प्रयास भइरहेको छ। तपाईंहरु यसो हेर्न सक्नुहुन्छ। सञ्चारमाध्यममा हेर्न सक्नुहुन्छ। विशाल सभाको फोटा छाप्दैन। सरकार विरोधी जमात देखियो भने हाइलाइट गरेर फोटो छाप्छ।’उनको आरोप छ।
आफूले सबै थाहा पाएर नै प्रतिनिधी सभा विघटन गरेर अस्थिरता रोकेको उनको दाबी छ। त्यसैले ताजा जनादेशबाट स्थायीत्व, विधि र पद्धति बसाउन खोजेको उनले बताए। उनले आफ्नो कदमलाई कतिले गैरजिम्मेवार भनेर अभिव्यक्ति दिएको सुनेको बताएका छन्।
उनको प्रश्न छ, ‘के हो जिम्मेवाररु डिक्सनरी पल्टाएर हेरे हुन्छ नि।’ आफू बिलकुल जिम्मेवारीका साथ लोकतन्त्र ल्याउन, नेपाली जनताले जति हन्डर ठक्कर खाएको छ, यातना सहेको छ, क्षति व्यहोरेको सम्झेरै यस्तो गरेको बताएका छन्। उनले पदलोलुप मान्छेका आत्मकेन्द्रित विचार हावी भएर लोकतन्त्र डिरेल हुन नदिने बताए। र, प्रश्न गरे, ‘के हो गैरजिम्मेवार? ’