२४ पुस, सुर्खेत । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–११, की २३ वर्षीया ताराकुमारी आले रहेकी छन् ।
सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई भेरीगंगा नगरपालिका–१२, स्थित छिन्चुमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार आलेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उक्त घटनामा मोटरसाइकल चालक कालिकोटको शुभकालिका गाउँपालिकाका २६ वर्षीय दुर्गा शाही घाइते छन् । उनको छिन्चुमै उपचार भैरहेको डएसपी घर्तीले बताए । ‘टिपर र चालकलाई इलाका प्रहरी छिन्चुले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।