पुस २२, रसुवा । चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको स्याफ्रु–रसुवागढी सडकखण्डमा पर्ने बिजुलीको पोल सार्न चैतसम्म लाग्ने भएको छ ।
केही ठाउँमा पोल सार्ने काम सुरु नै गर्न नपाउँदा समय लाग्ने भएको नेपाल विद्युत् प्राधिकरण धुन्चे शाखाले जनाएको छ । २०७६ सालको चैतदेखि पोल सार्ने काम सुरु भएको भए पनि कोरोना भाइरसको जोखिम, टेलिफोनको तार तथा फाइबर नेटवर्कको तार नसारिएको र तातोपानी क्षेत्रमा मुआब्जा वितरण नभएका कारण स्थानीय बासिन्दाको अवरोध र भौगोलिक विकटतालगायत कारण काममा ढिलाइ भएको केन्द्रले जनाएको छ ।
स्याफ्रु चौकीदेखि रोङ्गा पुल र रोङ्गा पुलदेखि लिङलिङसम्मको पोल सार्ने काम चलिरहेको छ । यही पुस महिनाभित्र पोल सार्नुपर्ने काम सकाउनुपर्ने भए पनि प्राधिकरणले चैतसम्ममा मात्र सक्ने जानकारी गराएको छ।सडक खण्डमा पर्ने ३ सय २५ वटा पोल हटाउनुपर्नेमा ५० प्रतिशत पोल हटाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ ।
योजना प्रमुख नारायणदत्त भण्डारी भण्डारीका अनुसार चैतसम्ममा पोल सार्ने काम सकिएमा त्यसपछि स्तरोन्नतिको काम सुरु हुने छ । स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेकोमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्ने छ। यो अहिले एक लेनको कच्ची सडक हो। चिनियाँ पक्षले कालोपत्रेसहितको दुई लेनको सडक बनाउने योजनाले जनाएको छ ।