पुस २२, काठमाडौं । काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ ।
परामर्शदाता कम्पनीले ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन प्रतिवेदनकोे बीचको प्रगति पेश गरेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार यसका लागि अहिले विस्तृत डिजाइन गर्ने काम अघि बढिरहेको छ । यस वर्ष निर्माणका लागि ठेक्कामा जान सकिने उनको भनाइ छ ।
यस वर्ष ग्वार्कोमा निर्माणका लागि प्रक्रियामा जाने र आगामी आर्थिक वर्षमा सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण अघि बढाइने योजना रहेको छ । चीन सरकारले दुई वर्ष पहिले निर्माण सम्पन्न गरेको चक्रपथको चोकहरुमा ‘फ्लाइओभर’ निर्माणको योजना बनाएको थियो।
सरकारले चालु आर्थिक वर्षमा उपत्यकामा फ्लाइओभर निर्माणका लागि बजेट छुट्याएको छ। उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो।
सरकारको लगानीमा निर्माण हुन लागेका यी नै पहिलो फ्लाइओभर हुनेछन् । ती ‘फ्लाइओभर’ चार लेनको हुने विभागले जनाएको छ ।