हिमपातले हिल्सा नाकामा आवतजावत बन्द !

 कोरखबर   २२ पौष, २०७७



पौष २२,सिमकोट। आइतबार दिनभरको हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी–साधनसहित मानिसको आवतजावत बन्द भएको छ।

आइतबारबाट परेको बाक्लो हिमपातले नारा लेकमा सडक छोपिएपछि हिल्सा आवतजावत बन्द भएको सीमा सुरक्षामा खटिएका हिल्सा (बीओपी) का इन्चार्ज सुरज केसीले जानकारी दिए ।

शनिबारसम्म छ हजार ६०० मिटर अग्लो नारा लेकबाट हिल्सा आवताजावत गर्न सकिने भए पनि हिमपातपछि बन्द भएको सीमा सुरक्षा चौकी (बीओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिए । मानिस पैदल हिँड्न पनि सक्ने अवस्था छैन ।

हिल्सामा (बीओपी) मा २० सशस्त्र प्रहरी र अन्य होटल कुरुवा बस्दै आएका छन् । हिल्सामा यसअघि चिसो बढेर तापक्रम माइनस नौ डिग्रीसम्म पुग्ने गरेकामा अहिले त्यो बढेर माइनस १४ डिग्रीसम्म पुगेको उनले बताए ।

हिल्सामा रहँदै आएका सुरक्षाकर्मी र अन्य मानिस घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । टोलीलाई गस्ती गर्न पनि समस्या उत्पन्न भएको छ । सबैजना घरभित्र आगो तापेर बसिरहेको केसीले बताए । हिमपात भइरहेका कारण सोलारले काम नगर्दा बत्ती पनि बन्द रहेको उनले जानकारी दिए । रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post