साउदी अरबले कतारमाथि लगाइएको नाकाबन्दी हटायो !

 कोरखबर   २१ पौष, २०७७



पुष २१, काठमाडौं । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । खाडी देशहरुमा यसलाई ठूलो घटना मानिएको छ किनभने कतारसँग धेरै छिमेकी देशहरुको विवाद रहँदै आएको छ ।

साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील (जीसीसी) सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने छन् ।

सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कतारले आतंकवादलाई बढावा दिएको आरोप छिमेकी देशहरुले लगाएपछि साउदी अरबले हवाई र स्थल नाकाबन्दी गरेको थियो । कतारमाथि व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध पनि लगाइएको थियो । यो प्रतिबन्धमा बहराइन, इजिप्ट लगायतका देशहरुले पनि साथ दिएर कतारमाथि घेराबन्दी गरेका थिए ।

कतार सानो तर धनी खाडी देश हो । उसमाथि जिहादी आतंकवादीलाई साथ दिएको आरोप लाग्ने गरेको छ । सो आरोपको कतारले खण्डन पनि गर्दै आएको छ ।

बीबीसीका अनुसार कतारमाथिको प्रतिबन्ध लामो कूटनीतिक प्रयासबाट हटाउन सम्भव भएको हो र यसमा कुवेतले अहम् भूमिका निर्वाह गरेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post