पुस १९,काठमाडौं । छोटो समयमा भाइरल भएको न्युरोड–संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ।
कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो।
‘मानिसहरूको आवतजावत बढाउन छाता राख्ने उपाय लगाएको तर अहिले मानिसहरुको दैनिक भीड लाग्न थालेपछि व्यवस्थापन गर्न गाह्रो भएकोले हटाउने निर्णय गरिएको संकटा क्लवका सचिव आशिषमान सिंहले बताए ।
समाजिक संजालमा भाइरल भएको सडकमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेको संकटा क्लबले जानकारी दिएको छ। मुख्य व्यापारिक केन्द्र न्युरोडमा पछिल्लो दुई सातायता ट्राफिक व्यवस्थापन, सवारी आवागमनमा समेत समस्या परेको सचिव सिंहले बताए। व्यापार बढाउनुभन्दा पनि समस्या थपिएपछि सबै जना मिलेर बन्द गर्ने निष्कर्षमा पुगिएको उनले बताए ।
पुस ५ गतेदेखि संकटा सडकमा छाता राख्न सुरू गरिएको थियो। त्यहाँ डेढ सय मिटर सडकमाथि चार सय बढी छाता थिए। सिंहका अनुसार छातामा मात्र करिब तीन लाख खर्च भएको थियो। चाडपर्व वा मेलाजात्रामा फेरि छाता राख्नेबारे योजना बनाउने सिंहले बताए।
शनिबार बेलुकादेखि छाता हटाउन सुरू गरिएको र आइतबारसम्म सबै हटाइने सिंहले जानकारी दिए।