प्रदेश २ का नेकपा संसदीय दलका नेता मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता !

 कोरखबर   १७ पौष, २०७७



पुस १७, जनकपुर । प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ।  प्रतिनिधि सभा विघटनपछि दुई भागमा विभाजित भएको नेकपामा अहिले एक पक्षले अर्को पक्षका नेताविरूद्ध कारबाही र पदमुक्त गर्ने होडबाजी नै चलेको छ। 

सोही क्रममा प्रदेश २ का  ओली समूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो। मण्डल ओली समूहमा लागेपछि उनलाई अविश्वास प्रस्ताव लगाउने प्रक्रिया अगाडि बढाइएको प्रचण्ड–नेपाल समूहका नेताहरूको भनाइ छ। 

प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतालाई हटाउनका लागि प्रदेश २ नेकपाका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराइएको प्रदेशसभा सदस्य शत्रुध्न महतोले जानकारी दिए।

महतोका अनुसार नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। यद्यपि दाहाल-नेपाल समूहमा २० जना प्रदेश सभा सदस्यहरूको समर्थन रहेको बताइएको छ।

दर्ता गराइएको अविश्वास प्रस्तावमा गोविन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, राम कुमार यादव, प्रमोद कुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगत प्रसाद यादव, सत्रुध्न महतो, भरत प्रसाद साह, मन्जु कुमारी यादव,  बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर रहेको महतोले जानकारी दिए।

प्रदेशसभा सदस्य सीता गुरूङ र फुलिया देवी सदाय सम्पर्क मै रहेको तर उनीहरूले हस्ताक्षर नगरेको महतोले बताए। संसदीय दलको नेतामाथि अविश्वास प्रस्ताव लगाउनका लागि एक चौथाइ प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित दलको उपनेतालाई बुझाउनुपर्ने विधान अनुरूप उपनेतालाई २ दिन अगाडि नै अविश्वास प्रस्ताव दर्ता गराइएको उनले जानकारी दिए।

मण्डललाई केही दिन अगाडि मात्रै नेकपा ओली समूहले प्रदेश २ को इन्चार्जमा नियुक्त गरेको थियो। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post