पुष १५,काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको हिउँदे अधिवेशन लामो समयसम्म लैजान नसकिने बताउनुभएको छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा विधेयकहरू दुवै सदनबाट पास गरेर ऐन बन्ने अवस्था नरहेकाले सरकारी बिजनेसविना अधिवेशन लामो समय लैजान नसकिने बताउनुभएको हो ।
यस्तै, अध्यक्ष तिमिल्सिनाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड र उच्च सतर्कता अपनाएर बैठकमा उपस्थित हुन राष्ट्रियसभाका सदस्यहरुलाई अपिल गर्नुभएको छ ।
पुष १७ गतेदेखि सुरु हुने बैठकका लागि संसद सचिवालयले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी गरे पनि संसदभित्रको तयारीले मात्र संक्रमण रोक्न प्रयाप्त नहुने भन्दै अध्यक्ष तिमिल्सिनाले विशेष सावधानी उपनाउन सदस्यहरूलाई आग्रह गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले बैठकअघि बिहिबार राष्ट्रियसभाका सदस्यहरूको कोभिड–१९ परीक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले सभाका सदस्य, सुरक्षाकर्मी, कर्मचारी लगायत सबै पक्षले पूर्णरुपले स्वास्थ्य सावधानी अपनाउन सके आगामी अधिवेशनमा स्वास्थ्यको कारण कुनै बाधा व्यवधान नआउने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रियसभाको अधिवेशन पौष १७ गते अपरान्ह ४ बजेदेखि सुरु हुँदैछ । प्रतिनिधिसभा विघटनपछि पहिलो पटक संघीय संसदका दुई सदनमध्ये एक सदन राष्ट्रियसभाको मात्र अधिवेशन हुन लागेको हो ।