पुस १५, हेटौंडा । लाभग्राहीको सूचीमा भएका तर अहिलेसम्म अनुदान सम्झौता नगरेका करिब २ हजार ४ सय लाभग्राहीको नाम खारेज गर्न जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सिफारिस गरेको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरले लाभग्राही सूचीमा भएका तर अहिलेसम्म पनि अनुदान सम्झौता गर्न नआएकाले लाभग्राहीको सूचीबाट नाम हटाउन सिफारिस गरेको हो । उनीहरूको नाम पुस १५ देखि खारेज हुने जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालयका प्रमुख विमलकिशोर केपीले जानकारी दिए । ‘भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि अनुदान सम्झौता गर्न नआएकाले लाभग्राही सूचीबाट नाम हटाउन सिफारिस गरेका हौं,’ उनले भने ।
भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन, शिक्षा र भवन कार्यालयद्वारा हालसम्मको पुनर्निर्माणको अवस्थाबारे आइतबार पत्रकारहरूलाई जानकारी दिँदै अनुदान व्यवस्थापन कार्यालयका प्रमुख विमलकिशोरले अहिलेसम्म अनुदान सम्झौता गर्न नआएका २ हजार ३ सय ८३ जना रहेको बताए । मकवानपुरमा २०७२ वैशाखमा भूकम्पले भत्केका निजी आवासमध्ये २२ हजार १ सय ५ वटा अर्थात् ६३ प्रतिशत भवन निर्माण भइसकेका छन् ।
जिल्लामा पहिचान भएका पुनर्निर्माण लाभग्राही ३५ हजार १ सय ८८ घरमध्ये ३२ हजार ८ सय ५ अर्थात् ९३ प्रतिशतले सम्झौता गरेर प्रथम किस्ता लगिसकेका छन् । त्यसमा ३१ हजार ५ सय ५० जनाले घरको पुनर्निर्माण गरिरहेका छन् ।