धनुषामा इन्धन बोकेको ट्यांकर दुर्घटना, चालकको ज्यान गयो !

 कोरखबर   १५ पौष, २०७७



पुष १५,काठमाडौं । तराईमा बढ्दो कुहिरोका कारण तेल बोक्ने ट्यांकर दुर्घटना बढ्न थालेको छ । बुधबार बिहान करिब ४ बजे भएको दुर्घटनामा एक चालकको मृत्यु समेत भएको छ ।

पूर्वाञ्चल पेट्रोलियम ट्यांकर ढुवानी संघका अध्यक्ष गुणराज निरौंलाका अनुसार निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगञ्जबाट २० हजार लिटर तेल बोकेर बिराटनगर डिपोतर्फ गइरहेको ट्यांकर धनुषाको धारापानीमा बुधबार बिहान दुर्घटना भएको हो ।

‘तराईमा यति बेला बाक्लो हुस्सु छ । अगाडिको बाटो देखिन नै मुस्किल हुन्छ । जसकारण राती तेल बोकेर बिराटनगर गइरहेको को १ ख २३३८ नम्बरको ट्यांकर बिपरित दिशाबाट आइरहेको ट्रकमा ठोक्किन पुगेको जानकारी पाएको छु’ उनले भने, ‘दुर्घटनामा परी चालक अर्जुन मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।’ उनका अनुसार ट्यांकर पल्टन नपाएकाले तेलमा कुनै क्षति भएको छैन ।

ढुवानी व्यवसायी निरौंलाका अनुसार मंगलबार साँझ समेत सप्तरीमा अर्को ट्यांकर दुर्घटना भएको थियो । ‘विराटनगरबाट तेल लिनका लागि अमलेखगञ्ज जाँदै गरेको ना ४ ख ८३५४ नम्बरको खाली ट्यांकर सप्तरीमा पल्टिएको थियो । दुर्घटनामा ठूलो क्षति केही भएन, ट्यांकरमा सामान्य क्षति भएको छ’ निरौंलाले भने । बाक्लो हुस्सुले अगाडीको बाटो प्रस्ट नदेखेपनि गाडी चलाउनुपर्ने बाध्यताका कारण दुर्घटना भएको उनले बताए ।

‘अगाडिको खाल्टो वा कुनै वस्तुलाई जोगाउन खोज्दा ट्यांकर अनियन्त्रित भई पल्टेको हो’ उनले भने । तराईमा यतिबेला साँझ, बिहान र राती बाक्लो हुस्सु लाग्ने भएकाले राजमार्गको यात्रा कठिन बन्दै गएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post