पुस १२, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुरको संज्ञा दिँदै असारमै ठेगान नलगाउँदा अहिलेको संकट आएको बताएका छन् ।आइतबार पार्टीले काठमाडौंमा गरेको विरोध प्रर्दशनका क्रममा बोल्दै उनले प्रचण्ड माधव नेपालले ओलीलाई असारमै ठेगान नलगाउँदा अहिले सडकमा बस्नुपरेको उल्लेख गरे ।
उनले भने– ‘यो भष्मासुर हो, यसले हात राखेपछि माहादेव पनि भष्म हुनुपर्छ, ओली भष्मासुर हुन्, असारमै ठेगाउन लगाउनुस् भन्यौँ तर उहाँहरुले मान्नुभएन् । अहिले उहाँहरु सडकमा बस्न आइपुग्नुभएको छ ।’ उनले प्रधानमन्त्री ओलीले २०१७ सालको इतिहास दोहोर्याएको बताए । उनले भने– ‘१५ सालमा बनेको संविधान राजा महेन्द्रले स्वीकार गरे । त्यसमै टेकेर १७ सालमा संसद विघटन गरे । जसका कारण ३० बर्ष लडाई गर्नुपर्यो । ५९ सालमा उनकै छोरा राजा ज्ञानेन्द्रले पनि त्यसै गरे । अहिले ओलीले पनि त्यसै गरेर इतिहास दोहोर्याएका छन् ।’
संसद विघटन कसैको लहडमा नहोस भनेर पूर्ण कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचित सांसद राख्न प्रस्ताव गरेपनि कसैले नमानेको र संसद विघटन नहोस भनेरै धारा ७६ राखिएको उल्लेख गरे । बुद्धिजिवी भनिएका र केही पत्रकारहरुले बेलायतको उदाहरण दिँदै प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछन् भनिरहेकोमा बेलायतमा पानी पर्यो भने छाता ओड्ने ? भन्दै प्रश्न गरे ।
डा. भट्टराईले संसद जिउँदो रहेकोले सभामुखले संसद बैठक बोलाउन सक्ने उल्लेख गर्दै संविधानले दिएको अधिकार प्रयोग गर्न सभामुखलाई आग्रह गरे ।