प्रधानन्यायाधीशको प्रश्न– जनमतप्राप्त दलले जनतामा जान्छु भन्दा 'तिमी नै सरकार चलाऊ' भन्ने हो ?

 कोरखबर   १० पौष, २०७७



पुस १०, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जनताबाट निर्वाचित भएको राजनीतिक दलले सरकार नचलाएर फेरि जनतामा जान्छु भन्दा पनि 'तिमी सरकार नै चलाऊ भन्ने हो?' भनेर प्रश्न गरेका छन् ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे बहसका क्रममा निवेदकका तर्फबाट कानुन व्यवसायी रुद्र शर्माले नेकपाले बहुमत प्राप्त गरेकाले संविधानअनुसार यसरी संसद् विघटन गर्न नमिल्ने धारणा राखेपछि जबराले उक्त प्रश्न सोधेका हुन् ।

'निर्वाचन भएर संविधानको धारा ७६ उपधारा १ अनुसार बहुमत प्राप्त गरेर सरकार गठन भयो । अब म सरकार चलाउँदिनँ, म जनतामा जान्छु भन्यो भने अनिवार्य तिमीले नै सरकार चलाऊ भन्ने हो ?,' प्रधानन्यायाधीश जबराको प्रश्न थियो ।

नेकपाको सरकार बहुमतको भएको र उक्त दलले नै चुनावमा जाने भनेकाले अर्को सरकार गठनको विकल्प नभएको भन्दै प्रधानन्यायाधीशले कानुन व्यवसायीलाई संविधानमा त्यसको विकल्पबारे कस्तो व्यवस्था छ भनेर सोधेका हुन्।

प्रधानमन्त्रीले संसद् छलेको भन्दै शर्माले कुरा उठाएपछि जबराले भने, 'प्रधानमन्त्री अल्पमतमा पर्‍यो भने संसद‌्मा जानुपर्‍यो भन्न खोज्नुभएको हो ?'

संविधानमा संसद् विघटनको सिद्धान्त राखिएको प्रधानन्यायाधीशले बताएका छन् । " २०४७ सालको संविधानले संसद् विघटन गर्ने कुरा अंगीकार गरेको थियो । त्यति बेला प्रधानमन्त्रीले गर्न पाउने भनेको थियो । अहिलेको संविधानले पनि संसद् विघटन हुन्छ भन्ने सिद्धान्त अंगीकार गरेको छ,"  जबराले भने ।

प्रधानन्यायाधीशले शर्मालाई भने, "संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ । तर, माध्यम के हो भन्ने कुरा राख्नुस् ।"

शर्माले भने विगतका संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको स्वविवेकीय अधिकार दिएकोमा अहिलेको संविधानले त्यस्तो अधिकार नदिएको जवाफ दिँदै संसद् विघटन गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय खारेजीका लागि अन्तरिम आदेशको माग गरे ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post