पौष १०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठनको तयारीमा रहेका छन् । विहिबार आफु पक्षको केन्द्रीय कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आज भोलिमै मन्त्रिपरिषद पुनर्गठन हुने बताएका थिए ।
प्रचण्डर नेपाल पक्षका ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १७ जना मन्त्री र राज्यमन्त्रीहरु छन् ।
प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल पक्षका मन्त्रीहरु पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले राजीनामा दिएका थिए ।
यस अघि रक्षामन्त्री प्रधानमन्त्री आफैले राखेकाले अहिले उनले बढीमा ८ जना मन्त्रीहरु नियुक्त गर्नसक्ने प्रावधान रहेको छ ।
सरकारमा सहभागी हुनेमा सबै भन्दा अगाडी टोपबहादुर रायमाझीको नाम रहेको छ । त्यस्तै महेश बस्नेत, कृष्णबहादुर श्रेष्ठ, नवराज सिलवाल लगायतको चर्चा रहेको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले निवर्तमान सांसदहरुबाटै मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।