पुस ९, काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन भएको वर्तमान अवस्था २०१७ सालको जस्तो भएको बताएका छन्। प्रचण्ड-माधव पक्षले बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजना गरेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले यस्तो बताएका हुन्।
'आजको अवस्था समान्य जस्तै हो भनेर सोच्नु गलत हुनेछ। २०१७ सालको जस्तो हो,' उनले भने। २०१७ सालमा राजा महेन्द्रले 'कु' गरी पञ्चायती व्यवस्था लागू गरेका थिए।
बैठकमा सम्बोधन गर्दै उनले ७ दशकसम्मको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिसमेत अपहरणमा परेको उल्लेख गरे। ' हामीले ७ दशकसम्म लडेको लडाईंबाट प्राप्त गरेका उपलब्धि अपहरण भएका छन्। हाम्रो आन्दोलन जाली र फटाहा प्रवृत्तिका विरुद्ध हो,' उनले भने, 'वैचारिक र राजनीतिक रूपमा विचलित साथीहरूसँगको लडाइँ हो। यो जीवन र मृत्युको लडाइँ हो। जस्तोसुकै मूल्य चुकाउन अघि बढ्नुपर्छ।'
उनले आफ्नो पक्षमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै आफ्नो पक्ष नै आधिकारिक भएको समेत दाबी गरे। 'हामी ७० प्रतिशत छौं। सबै प्रमाण निर्वाचन आयोगमा पेस गरेका छौं,' उनले भने, 'आयोगले हामीलाई वैधता दिन्छ।'