पुस ९,काठमाडौं । पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले अन्ततः पूर्वसहकर्मी पुष्पकमल दाहाल 'प्रचण्ड'को साथ छोडेका छन् ।
सरकारका गृहमन्त्री एवम् नेकपा सचिवालय सदस्यसमेत रहेका उनी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका हुन् । तर उनको समूहका अधिकांश नेताहरु भने प्रचण्ड–माधव नेपाल समूहमा छन् ।
नेकपाको विभाजन प्रक्रियामा गृहमन्त्री थापा मात्रै प्रधानमन्त्री ओली समूहमा लागेका हुन् । चार दिनसम्म कुन समूहमा जाने निर्णय नगरेका बादलले बुधबार राति ओली समूहमा लाग्ने निर्णय गरेका हुन्। बादलले अन्तिममा ओलीलाई रोज्दा उनीनिकट सबै केन्द्रीय सदस्य भने प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा लागेका छन्।
२०७० सालमा तत्कालीन एकीकृत माओवादी विभाजनामा मोहन वैद्यसँगै गएका बादल २०७२ सालमा प्रचण्डसँग एकता गरेका थिए। बादल समूहसँगको एकतापछि एकीकृत नेकपा माओवादी नेकपा माओवादी केन्द्र बनेको थियो।
एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपामा बादलको पूर्वसमूहका ३ दर्जन बढी केन्द्रीय कमिटीमा थिए। प्रतिनिधि सभामा उनको पूर्वसमूहमा रहेका ६ जना सांसद छन्।
बादलनिकट सबैजसो केन्द्रीय सदस्य प्रचण्ड-नेपालसँगै रहेको बताईन्छ । नेकपा विभाजन भएसँगै प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा दुई तिहाइ केन्द्रीय सदस्य छन् भने ओली नेतृत्वको नेकपामा एक तिहाइ पनि केन्द्रीय सदस्य छैनन्।