८ पुस, काठमाडौं । नेकपा पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहको बैठकमा सहभागी भएको भोलिपल्टै नेता रघुवीर महासेठ प्रधानमन्त्री केपी शर्मा ओली समूहमा फर्किएका छन्।
काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मंगलबार भएको दाहाल(नेपाल समूहको बैठकमा सहभागी महासेठ बुधबार ओली समूहमा फर्किएका हुन्।
हाल तटस्थ बसिरहेका नेकपा उपाध्यक्ष वामदेव गौतमनिकट महासेठकी श्रीमती जुलीकुमारी महतो भने यसअघि नै ओली समूहमा संलग्न भइसकेकी छन्।
एक दिनमै प्रचण्ड(माधव समूहबाट बाहिरिएका महासेठलाई ओली समूहले तत्कालै जिम्मेवारी पनि दिएको छ। महासेठले हिजोको बैठकमा उपस्थित भएर पनि माइन्युटमा हस्ताक्षर गरेका थिएनन्। उनले ओलीलाई हटाउने निर्णय भइसकेपछि मात्रै उक्त बैठकमा सहभागिता जनाएका थिए।
कार्की पार्टी प्यालेसबाट निस्किएपछि मंगलबारै महासेठले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेपछि समुह परिवर्तन गरेका हुन्। ओली समूहमा फर्किएपछि उनलाई प्रदेश २ को कार्यकर्ता प्रशिक्षणका लागि एकजना वक्ताका रुपमा तोकिएको छ।
नेकपा औपचारिकरुपमा विभाजित भएपछि पछिल्लो समय नेताहरुले समूह फेर्ने क्रम बढेको छ। माधवनिकट नेता शेरबहादुर तामाङ र राजेन्द्र राईसहित अहिले ओली समूहमा खुलिसकेका छन्।