पुस ७, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को छुट्टाछुट्टै भेलापछि काठमाण्डौ उपत्यकामा सुरक्षा सतर्कता बढाइएको छ ।
उपत्यकाका मुख्य चोकहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दीसहितको प्रहरीका साथै सादा पोसाकका प्रहरीलाई पनि उत्तिकै सङ्ख्यामा खटाइएको छ ।
नेकपाभित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको ठाउँहरूमा समेत बाक्लो सङ्ख्यामा प्रहरी खटाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
विभिन्न राजनैतिक दलले गर्ने विरोध प्रदर्शनमा विप्लव समूहको घुसपैठसमेत हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ । काठमाण्डौको रत्नपार्क वरिपरिको क्षेत्र, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर, प्रदर्शनीमार्गलगायतका क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।