काठमाडौं, ७ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमै मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । उनले यसपटक मन्त्रिमण्डल पुर्नगठनमा पार्टीभित्र संकटको अवस्थामा आफूलाई साथ दिनेलाई मन्त्री बनाउने भएका हुन् ।
विश्वस्त स्रोतका अनुसार क्याम्प परिवर्तन गरेर आउने नेताहरु मन्त्री बन्ने प्राथमिकताको सूचीमा छन् । जसअनुसार स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी र मणि थापा पनि मन्त्री बन्ने निश्चितप्रायः भएको छ । पूर्व माओवादीका दुवै नेताहरु आजबाट औपचारिक रुपमा ओली क्याम्पमा गएका हुन् ।
रायमाझी विगतमा उपप्रधानमन्त्री भइसकेका नेता हुन् ।अर्घाखाँचीबाट निर्वाचित सांसद उनको त्यहाँ राम्रो पकड रहेको मानिन्छ ।
मणि थापा माओवादी जनयुद्ध हुँदा कारबाहीमा परेका थिए । उनलाई तत्कालिन माओवादीले कारबाही गरेर निष्काशन गरेको थियो । पछि आफ्नै राजनीतिक समूह बनाएर सक्रिय भएका थिए ।
थापा एमाले र माओवादी एकीकरणपछि स्थायी कमिटी सदस्यका रुपमा प्रचण्डको समूहबाट ल्याइएका हुन् ।