पौष ६,काठमान्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।
प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्तावका नाममा आफ्नो चरित्र हत्या गर्न ‘अभियोगपत्र’ पार्टी बैठकमा लगिएको प्रष्ट्याए ।
सरकारले राम्रो काम गर्दा गर्दै पनि विपक्षी दललाई पनि उछिनेर आफ्नै पार्टीका नेताहरूबाट सरकारलाई असहयोग गरिएको जनाए ।
सरकारले आफ्नो पूर्ण भूमि समेटर नयाँ नक्सा जारी गरेको, अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउँदै अघि बढाएको तथा चीनसँग पारबहन सुविधा विस्तार गरिएकोमा उल्टो अविश्वास प्रस्ताव ल्याएर सरकारलाई अपदस्त गर्न खोजिएको उनले बताए ।
पहिलो पटक आफू प्रधानमन्त्री हुँदा भारतको नाकाबन्दी डटेर लागिपर्दा उल्टै सरकार अपदस्थ गरिएको स्मरण गर्दै ओलीले भने, ‘परस्थिति र समय सन्दर्भ फरक भए पनि पात्रहरू उनै हुन् । के यसले हाम्रा कतिपय नेताहरू नेपाललाई अनन्त अस्थिरतामा धकेल्न लागि परेको स्पष्ट हुन्न र ?
यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुट्ने बताएका छन् । तर, पार्टी नफुटे पनि एकता भने भंग हुने र पूर्वसमूह ( एमाले र माओवादी) आ–आफ्नो बाटो लाग्न सक्ने प्रधानमन्त्री ओलीको विश्लेषण छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बिहान आफूनिकटका सांसद र केन्द्रीय सदस्यहरुको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो विश्लेषण सुनाए ।
आफूले संसद विघटन गरेर मध्यावधि चुनावमा जानुपर्ने कारणबारे बताउनका लागि ओलीले आफ्नो पक्षका नेताहरुलाई बालुवाटारमा बोलाएका थिए ।
आगामी बैशाखमा दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता भंग भएपछि निर्वाचन आयोगले नेकपा एमाले र सूर्यचिन्हलाई मान्यता दिने संकेत गरे । त्यसैगरी माओवादी र हँसिया हथौडा चुनावचिन्ह प्रचण्ड समूहले पाउने उनले जनाऊ दिए ।
बालुवाटारमा प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूको विश्लेषण के छ भने दुई अध्यक्षको सहमतिविना केन्द्रीय कमिटीको बैठक बस्न सक्दैन । त्यसरी बैठक राखियो भने पार्टी एकता भंग हुन्छ र पूर्वसमूहहरु आ–आफ्नो बाटो लाग्छन् ।’
प्रचण्ड–माधव पक्षले मंगलबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । दुई अध्यक्षको सहमतिविना त्यो बैठक बसेमा अवैधानिक हुने र पार्टी एकता भंग भई पूर्वसमूह (एमाले र माओवादी) जागृत हुने प्रधानमन्त्री ओलीले बताए ।