पुस ५,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा दिएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्।
उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वन मन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर छन् ।
राजीनामामा पूर्व माओवादी खेमाका २ मन्त्री रामबहादुर थापा बादल र लेखराज भट्टको नाम भने सामेल छैन ।
'गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,' संयुक्त राजीनामा पत्रमा भनिएको छ ।