पत्रकारहरुका सबैखाले समस्या सम्बोधन गरिन्छ : सञ्चारमन्त्री गुरुङ

 कोरखबर   २ पौष, २०७७



पुष २, काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पार्बत गुरुङले पत्रकारहरुका सबैखाले समस्या र विषयहरुलाई आन्दोलन, विरोध गर्नु अगावै समयमै सम्बोधन गर्दै जाने मन्त्रालयको नीति रहेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघद्वारा महासंघको सभाहल संचारग्राम काठमान्डौमा आयोजित पत्रकार अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोभिडबाट प्रभावित पत्रकारहरुका लागि निशुल्क उपचार व्यवस्था, जिल्ला हुलाक मार्फत प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरणको व्यवस्था लगाएतका सुधारका कामहरु तत्कालै थालिएको बताउनुभयो ।

उहाँले पत्रकारहरुका बाँकी विषयहरु पनि सम्बोधन र कार्यान्वयन गर्दै जाने प्रतिबद्दता व्यक्त गर्नुभयो । मन्त्री गुरुङले समृद्दि र समाजको रुपान्तरणका लागि सृजनात्मक र सकारात्मक सोचका साथ राष्ट्रको हितमा काम गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले पत्रकारहरु समाजप्रति जिम्मेवार हुनुपर्ने, पत्रकारका लागि निश्चित योग्यता र क्षमता तोकिनुपर्ने बताउँदै मन्त्रालय र महासंघको संयुक्त पहलबाट पत्रकारका विषयमा ठोस निर्णयमा पुग्न सजिलो हुने बताउनुभयो ।

सोही अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले कोभिड १९ का कारण विस्थापित र पलायन भएका पत्रकारहरुलाई सरकारले राहत र सुरक्षाको व्यवस्था गर्नुपर्ने बताउँदै पत्रकार कल्याण कोषको स्थापनाका लागि आग्रह गर्नुभयो ।

अन्तरकृया कार्यक्रममा प्रेस काउन्सिल लगाएत पत्रकारहरुका विभिन्न संघ संगठनका पदाधिकारीहरुले श्रमजिबी पत्रकारहरुका समस्या, निर्णय तहमा समानुपातिक र समावेशिता र पत्रकारहरुका लागि तालिम, राहत र सुरक्षा लगाएतका विषयहरुमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

मुलकभरिका पत्रकारहरुको साझा संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघमा १३ हजार भन्दा बढी पत्रकार सदस्यहरु रहेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post