अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह !

 कोरखबर   २ पौष, २०७७



पुष,रसुवा । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ इलाका क्षेत्रमा स्कूले बालिकाको हत्या भएपछि गम्भीर रहेको रसुवा प्रहरीले यस्ता घटना न्यूनीकरण गर्न सूचनाकोे सहयोगका लागि समुदायसमक्ष सहयोग मागेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाले स्कूले ससाना बालबालिकाको संरक्षण गर्न जनहितकारी १६ बुँदे सूचनासमेत जारी गर्दै प्रहरीले दिएको सुरक्षासम्बन्धी सुझाव कार्यान्वयन गरिदिन आग्रह गरेको छ । जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीका अनुसार कुनै पनि अपरिचित व्यक्ति गाउँमा प्रवेश गरेमा त्यस्तो व्यक्तिको पहिचान गरी नजिककोे सुरक्षाचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवाको फोन नं ०१०-५४०१९९ वा मोबाइल नं ९८५१२७५५५५ तुरुन्त खबर पठाउने कामलाई पहिलो प्राथमिकता दिन पनि जिल्लावासीलाई आग्रह गरिएको हो ।

अभिभावक नभएको मौका छोपी अपरिचित व्यक्तिले खानेकुरा दिई ललाइफकाई अपहरण गर्नसक्ने भएकाले त्यस्ता अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान दिशाबोध गराई सहारा बेगर बालबालिकालाई घरबाट बाहिर नछोड्नसमेत आग्रह गरेको छ ।

यसैगरी कोरोना महामारीका कारण सबै बालबालिकालाई मास्कको प्रयोग गर्ने गराउने, ‘तिमी एक्लै छैनौ हामी छौँ’ भन्ने भावको विकास गराई उनीहरूको मनमस्तिष्क निरन्तर प्रफुल्लित बनाइराख्ने, कुट्ने पिट्ने, गाली गर्ने काम बन्द गर्ने गराउने र समाजमा हुने सबै प्रकारका अपराधलाई निरुत्साहित गरी सुरक्षित समाज निर्माणमा सबै क्षेत्रबाट सहयोग मिल्नेमा आफू आशावादी भएको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post