पुस १,काठमाडौँ । प्रहरीले संरक्षित जन्तु सुनगोहोरोसहित आखेटोपहार बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । उनीहरूका साथबाट आठवटा जीवित सुनगोहोरो र चितुवाको एक थान टाउकोसमेत बरामद गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको कानेपोखरी–१ का ४१ वर्षीय भेषबहादुर थापा र तेह्रथुमको लालीगुराँस नगरपालिका–४ का डिल्लीमान पौडेल छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई गोप्य सूचनाका आधारमा मंगलबार टोखा नगरपालिका–२ चण्डेश्वरीबाट नियन्त्रणमा लिएको हो ।
दुवै जनालाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बूढानीलकण्ठमा बुझाइएको ब्युरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जनाएका छन् ।