पुष १ , काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । तर, अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् ।
ओली नआइपुगे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका छन् । बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा छलफल गरेर प्रचण्ड बैठकमा आएका हुन् ।
बुधबारको बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने एजेण्डा पूर्व निर्धारित छ । तर, मंगलबार मात्रै सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकाले यो विषयले पनि स्थायी कमिटीमा प्रवेश आउने संभावना छ ।
गएको मंसिर २१ देखि शुरु भएको स्थायी कमिटी बैठक चलिरहेकै अवधिमा ओलीले मंगलबार अध्यादेश ल्याए पछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताको बैठक मंगलबार खुमलटारमा बसेको थियो ।
गएको माघ २६ को स्थायी कमिटीले गरेको १५ बुँदे निर्णय पालना नभएको भन्दै ओली प्रति पार्टीभित्र असन्तुष्टि बढेको छ ।
यो विषयमा ओली र प्रचण्डले एकअर्कालाई आरोप लगाएर लेखेको पत्रहरुबारे सचिवालयले निकास दिन नसकेपछि स्थायी कमिटी बैठकमा छलफल चलिरहेको छ ।